खबर संवाद
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुरानो पुलमा क्षति पुगेपछि सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ।बागमती प्रदेश ट्राफिक कार्यालयले आवागमन रोकेर डाइभर्सनको काम सुरु गरिएको जानकारी दिएको छ। नयाँ पुल निर्माणको क्रममा पुरानो पुलमा क्षति भएको अनुमान गरिएको छ।
१३ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।
पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।