क्रान्ति अर्याल, स्याङजा ।
साउन ८ गते
पछिल्लो समय पहाडी जिल्लामा ड्रागन फलको व्यवसायिक खेती फस्टाएको छ।
स्याङ्जाको गल्याङ नगरपालिका -३ स्थित लल्याङका व्यवसायी होमनाथ भट्टराई रामुले विगत तीन वर्षदेखि व्यवसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ । उहाँले यसबाट राम्रो कमाई समेत गर्नुभएको छ । सूर्योदय कृषि तथा पशुपालन फर्म प्रा.लि. दर्ता गरेर व्यवसायिक रुपमा ड्रागन खेती गर्नुभएको भट्टराईले बताउनुभयो ।
करिव ६ रोपनि जग्गामा उहाँले करिब ६०० विरुवा लगाउनुभएको छ । सुरुमा साढे ५ लाख रुपैयाँ लगानीमा ड्रागन खेती सुरु गर्नुभएका भट्टराईले पहिलो वर्षमा ३५ हजार, दोस्रो वर्षमा ८० हजार र तेस्रो वर्षमा करिब ४ लाख आम्दानी गर्नुभएको बताउनुभयाे ।
नेपाली बजारमा ६ सय देखि देखि १ हजार रुपैया केजीसम्म बिक्री हुने ड्रागन फल १५० ग्रामदेखि एक किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिने पनि उहाँले बताउनुभयो ।

हरेक वर्षकाे वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ३० देखि ३५ दिनका अवधिमा तयार हुन्छ । उहाँले भन्नुभयो “असारदेखि मंसिर महिनासम्म फल टिप्न सकिन्छ ।” एउटै बोटमा पाँच केजी सम्म फल्ने भएकाले उत्पादित फल स्थानीय बजारका साथै अन्य जिल्लाहरुवाट घरैमा खरिदका लागि आउने गरेकाे समेत उहाले जानकारी दिनुभयाे। 
सीमित उत्पादनका कारण मागपूर्ति गर्न नसकेकाले आगामी दिनमा ड्रागन खेती विस्तार गर्ने लक्ष्य रहेकाे समेत बताउनुभयो । आफू ५१ वर्षको उमेरमा पनि ड्रागन खेतीबाट मनग्य कमाई गरेको र युवाहरु विदेश पलायन हुनुभन्दा स्वदेशमै रहेर ड्रागन खेती गरी आत्मनिर्भर बन्न उहाले सुझाव दिनुभयो । 
ड्रागनको विरुवा एकपटक लगाएपछि केही वर्षपछि एउटै विरुवाबाट दशौँ विरुवा निकाल्न सकिन्छ। प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञहरूले बताउँदै गर्दा स्याङ्जाको बजारमा ड्रागनकाे माग बढ्दाे छ ।