अकला संवाददाता
४२ बर्षदेखि वालिङ मोडमा खुर्सानी,अमिलो,कागती जस्ता स्थानीय उत्पादन बेच्दै आएका पेमे नेपालीको गत हप्ता मृत्यु भयो । वालिङको मुख्य चोकका सडक छेउमा आफ्नो जिन्दगीको उर्जाशिल ४२ बर्ष खर्चेका नेपाली गत हप्ता सधैंका लागि अस्ताए ।
उनै पेमेको मृत्युु पछि कमजोर आर्थिक अवस्थाका कारण परिवारले वालिङ खेलमैदानमा रहेको सार्वजनिक शौचालयमा काजकिरिया गरिरहेका छन् ।
५ छोरा र २ छोरी जन्माएका नेपालीले सबै छोराछोरीलाई खुर्सानी र अमिलो बेचेरै हुर्काउने बढाउने गराए आफू र श्रीमती पबी नेपालीको समेत गर्जो टार्दै आए ।
खुर्सानी वेचेर घर फर्केका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरि सधैंलाई अस्ताए ।
२०१० सालमा पर्वत केमुनेमा जन्मेका पेमे २०२० तिर वालिङ आएको परिवारले बताएको छ ।
पेमेकी श्रीमती पवि भन्छिन् राजेन्द्र गैरेले हामीलाई अस्थायी रुपमा बस्न वालिङ मोड माथि एउटा छाप्रो दिनु भएको थियोे,त्यहीँ छाप्रो समेत उपकार बचत तथा ऋण सहकारी संस्थाले भवन बनाउदा भत्किएको गुनासो गरेकि छन् ।
मोडको केही माथि एउटा पञ्चायत भवन थियोे त्यो भवन पनि लथालिङ्ग र अलपत्र परेपछि आफुहरुको बास अलपत्र परेको उनीहरूको गुनासो छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन,उनी राष्ट्रिय फुटबल टिमबाट बङ्लादेश समेत सहभागी भईन् ।
तर अहिले सार्वजनिक शौचालयको आडमा आडेस लगाएर आफ्नो बुबाको मृत्यु शोकमा रहेकि छिन् ।
यतिमात्र होइन पेमेका नाती कृष्ण नेपाली २०७८ सालमा ट्याक्टर दुर्घटनामा परे,स्थानीय पंगेनी थरका एक ट्याक्टर साहुको ट्याक्टरको हेल्पर थिए,पकान जादै गर्दा ट्याक्टर दुर्घटनामा परेको थियोे । गम्भीर दुर्घटनामा परेका नाति कृष्ण अहिले हल र चलको अवस्थामा छन् । अझै भन्दा उनलेे दिशा पिसाब समेत बिस्तारमा नै गर्ने बाध्यतामा छन् ।
दुर्घटनामा ८/९ लाख खर्च भयो न खर्च पाए र उपचार निको भयो ।
१ लाख रुपैया अप्रेसन खर्च पाए पनि बिमाबाट आउनुपर्ने रकम समेत नपाएको गुनासो गर्छिन कृष्णकी आमा ।
पेमेका ३ सन्तान प्रष्टसंग बोल्न सक्दैनन् ।
केही दिन अगाडि वालिङ बोलबम समितिले केही खाधान्न राहत स्वरुप दिएको समितिका प्रवक्ता युवराज गौतमले बताउनुभयो ।
तर आर्थिक अवस्था कमजोर भएर शौचालयमा काजकिरिया गर्ने बाध्यतामा रहदा समेत सरोकारवाला कुनै निकाय देखि सामाजिक संघसंस्थाले कुनै चासो नदेखाएको गुनासो व्यापक छ । दलितका नाममा खुलेका एनजीओ आईएनजीओले समेत भत्ता पचाउने बाहेक यस्तो गम्भीरतामा खासै वास्ता गरेको देखिदैन । दलित र गरिबीका नाममा खर्चने करोडौं बजेट समेत तालिम र गोष्ठीको नाममा ब्रहमलुट भएको छ,सरोकारवाला निकायमा पुग्दैन ।
वालिङ् नगरपालिकामा समेत दलितका नाममा लाखौं पैसा छ त्यो समेत कार्यकर्ता खुसी बनाउने र गोष्ठीमा सक्ने भईरहेको गुनासो छ ।