काठमाडौँ । चारदलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भएको छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारण बनाउने र भविष्यमा पार्टी एकता गर्ने गरी बनेको मोर्चा विघटन भएको हो । मोर्चामा रहेका तीन पार्टी नै एकता प्रक्रियामा सहभागी भएकाले मोर्चाको औचित्य नभएको कार्यदलका पूर्वसदस्य गङ्गानारायण श्रेष्ठले बताए ।‘समाजवादी मोर्चामा सहभागी तीन दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएकाले स्वतः विघटन जस्तै भएको छ । मोर्चाको औचित्य नै समाप्त भएको छ’, उनले भने ।
२०८० साल असार ४ गते पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए । जसपा विभाजन भएपछि २०८१ सालमा साउन १ गते मोर्चाबाट बाहिरिएको थियो । सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा जोडिएको थियो । यसले ५५ जिल्ला, दुई सय पालिकामा सङ्गठन विस्तार गरेको थियो । काठमाडौँमा दुई पटक ठुला विरोधसभा आयोजना गर्नुको साथै सातै प्रदेशमा सन्देश सभा गरेको थियो ।
मोर्चाका संयोजक रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पलालले जस्तै एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यले मोर्चा गठन भएपनि काम गर्न नसकेको बताएका छन् । कात्तिक २० गते काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले भने–‘पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र बाउनुपर्छ भन्ने नेकपा नै हो । त्यो नीति अन्तर्गत समाजवादी मोर्चासँग सहकार्य गर्ने हामी नै हो । समाजवादी मोर्चा देशव्यापी चल्न सकेन । मोर्चा सडकमा जानुपर्थ्यो । तर सडकमा जानै मानेन । दलाली, भ्रष्टाचार, राष्ट्रघातको विरुद्ध लड्नुपर्थ्यो । तर समाजवादी मोर्चा गाँजा खाएर सुतेको बिरामी जस्तो शिथिल भयो ।’
माओवादी, एकीकृत समाजवादी लगायत १० वाम दलले १९ गते एकता घोषणा गरेका थिए । विप्लव, माओवादीबाट अलग भएका जनार्दन शर्मा, पुनर्गठित एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालबिच वामपन्थी ध्रुवीकरण गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।