खबर संवाद
मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएसँगै दुई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेको छैन। मुग्लिन नजिकै तुइनखोला छेउमा लगातार पहिरो झरिरहेकाले सडक खोल्न नसकिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक अवरुद्धकै कारण यात्रुहरूलाई समस्या भएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणका अनुसार हाल प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरूमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट ९कालीगण्डकी करिडोर छन् । सडक डिभिजनले पहिरो अझै नरोकिएकाले सडक कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको जनाएको छ।
आज आइतबार पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहान जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुङ्गा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आज बिहान ५स्२५ बजे म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ खण्डमा माथिबाट लेदो, माटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
चितवनको मुग्लिन(नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते साँझ ६स्२५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खसेको थियो । उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।
‘उक्त खण्डमा पटकपटक पहिरो जाने समस्या छ । शुक्रबारदेखि निरन्तर खसेको पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयासमा छौं । माथिबाट पहिरो खस्न पनि रोकिएको छैन’, उनले भने ।
बाढीका कारण रसुवास्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा बाढी आइरहेकाले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।

त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थितमा जाजरकोट–डोल्पा खण्ड ९भेरी करिडोर० अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको डीआईजी घिमिरेले बताए ।
मनसुन सक्रिय भएकाले वर्षात्‌का कारण विपद्को घटना हुन नदिनका लागि बीपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ ।
अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ देखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अन्य निजी सवारीसाधन सञ्चालन रहेको प्रहरीले जनाएको छ ।