खबर संवाद
आज असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको तेस्रो बर्ष पुरा भएको छ । सोही अवसर पारी पार्टीले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । रुपन्देहीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा शान्ति पदयात्रा, जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र भीम अस्पतालमा भएका विरामीहरुलाई फलफुल वितरण गरि आफ्नो पार्टी स्थापना दिवस मनाईएको रास्वपाका क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मधु अर्यालले बताए ।


भैरहवाको देवकोटाचोकदेखी कारागारक्षेत्र हुँदै बुद्धचोकमा पुगेर शान्ति पदयात्रालाई कोणसभामा परिणत गरिएको थियो । उक्त कोणसभामा पार्टीका विभिन्न तहका नेताहरुले सम्बोधन गर्दै मानव तस्करका नाईकले देशको शासन सत्ता चलाईरहँदा जनताको आशा रवि लामिछानेमाथी राजनीतिक प्रतिशोधमा जेलमा हालिएको भन्दै चर्काे विरोध गरेका थिए । सम्बोधन गर्ने अधिकांश नेताले रवि लामिछानेलाई भएको राजनीतिक प्रतिशोध र पछिल्लो समय पार्टीले उठाईरहेको मानवतस्करको सन्दर्भ जोडतोडले उठाए ।

कोणसभालगतै भिजिट भिसा प्रकरणको न्यायिक छानविनको माग राख्दै प्रधानमन्त्री ओलीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पेश गरिएको थियो । त्यसलगत्तै पार्टी स्थापना दिवसको अवसरमा फलफुल वितरण समेत गरिएको थियो ।

जिल्ला अस्पताल भिम अस्पताल भैरहवामा ईमर्जेन्सी विभागमा रहेका ६० जना विरामीलाई स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको रास्वपाका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
यस्तै रास्वपाले स्थापना दिवसकै अवसरमा केही पालिकामा बृक्षारोपण लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु पनि गरेको थियो ।