खबरसंवाद
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक रुपन्देही–२ पनि रहेको छ । रुपन्देही–२ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका उम्मेदवार भएका कारण पनि चर्चामा रहेको छ । रुपन्देही क्षेत्र नम्बर २ मा सैन मैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार रुपन्देही–२ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ३५ हजार ५० जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३८ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन– २०७९
२०७९ को आम निर्वाचनमा रुपन्देही–२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका थिए । पौडेलले २७ हजार १६५ मत प्राप्त गरेर विजयी भएका थिए । दोस्रो भएका स्वतन्त्र उम्मेदवारले यस क्षेत्रमा २५ हजार ७९५ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले २२ हजार २७ मत प्राप्त गरेका थिए ।
त्यसै गरी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रुपन्देही–२ मा रास्वपाले सर्वाधिक २५ हजार ६७३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले २१ हजार १८३ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १३ हजार ४५० मत पाएको थियो । त्यसै गरी राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो भने राष्ट्रिय जनमुक्ति पार्टीले ४ हजार १९७ मत पाएको थियो । त्यस्तै तत्कालीन माओवादी केन्द्रले ३ हजार ४२९ मत पाएको थियो ।
उम्मेदवार–२०८२
यस निर्वाचनमा रुपन्देही(२ मा दल र स्वतन्त्र गरी कुल ३९ उम्मेदवार रहेका छन् । जस अनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल पुनः उम्मेदवार बनेका छन् । उनी सुरुमा पाल्पाबाट उम्मेदवार बन्ने निर्णय भए पनि कार्यकर्ताको विरोध र आलोचना पछि पुनः रुपन्देही फर्किएका थिए । गत निर्वाचनमा १३७० मत अन्तरले जितेका पौडेलले यस पटक चुनावमा अफ्ठेरो हुनसक्ने डरले नै पाल्पा जान खोजेको विश्लेषण धेरैले गरेका थिए ।
यस पटक नेपाली काँग्रेसले उद्योगपति चुन्न प्रसाद पौडेललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ । पौडेल रुपन्देहीका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी समेत हुन। पौडेलको रुपन्देहीमा उद्योग तथा स्वास्थ्य क्षेत्रमा ठुलो लगानी रहेको छ । त्यस्तै ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता सुलभ खरेल उम्मेदवार बनेका छन् । खरेल रबि लामिछानेको मुद्दामा बहस गदै आएका वकिल समेत हुन । त्यस्तै नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार बनेका छन् । विगतमा उनी प्रचण्डको तत्कालीन माओवादी छाडेर बाबुराम भट्टराईको पार्टीमा रहेका थिए । अहिले पुनः प्रचण्डसँगै फर्किएर नेकपाको उम्मेदवार छन्।
त्यस्तै अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर यस पटक पनि उम्मेदवार छन्। यसै गरी यस क्षेत्रबाट डा। निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् । नेपाल जनसेवा पार्टीबाट सेतो र कालो रङको जुत्ता चुनाव चिन्ह लिएर भुसाल उम्मेदवार बनेका हुन् ।

निष्कर्ष
रुपन्देही–२ मा अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनको अवस्था फरक रहेको छ । अघिल्लो चुनावमा यस क्षेत्रमा काँग्रेस(माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धन उम्मेदवार विहीन बनेको थियो । त्यसपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरलाई समर्थन गरेका थिए । क्षेत्रमा एमालेकै हाराहारीमा मत रहेको काँग्रेस, त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादी उम्मेदवार विहीन बनेपछि यस क्षेत्रका धेरै मतदाताले स्वतन्त्र उम्मेदवार गणेश पौडेललाई समर्थन गरेका थिए ।
अब यस पटक भने सबै प्रमुख दलका आ(आफ्ना उम्मेदवार रहेका छन् । र सबै दलको असली परीक्षा यस पटक हुने देखिएको छ । अघिल्लो निर्वाचनमा भन्दा यस पटक रास्वपा नयाँ लहरका साथ आएको छ । त्यस कारण पनि रास्वपाको चुनाव जित्ने दाबी आफैमा बलियो छ । त्यस्तै काँग्रेस पनि आफूलाई बदलेर आएको दाबी गरिरहेको छ । काँग्रेसका यस क्षेत्रका उम्मेदवार चुन्न प्रसाद पौडेलको पार्टीका साथै व्यक्तिगत प्रभावका कारण पनि उनलाई नजर अन्दाज गर्ने अवस्था छैन । त्यस्तै यस क्षेत्रबाट पटक पटक निर्वाचित भएर उपप्रधानमन्त्री र अर्थ मन्त्री भइसकेका विष्णु पौडेलले तुलनात्मक रूपमा अहिले विपक्षी अलग अलग भएर आएकाले आफ्ना मत जोगाउन सकेमा मात्र पनि जित्ने भरोसामा रहेका छन् । एमाले उपाध्यक्ष रहेका पौडेलले रुपन्देहीमा ल्याएका ठुला ठुला महत्वकांक्षी योजनाहरूका कारण पनि जनतामा उनको विकास प्रेमी छवि कायमै रहेकोले जित निकाल्न सक्ने एक थरीको विश्लेषण समेत रहेको छ ।
त्यस्तै पछिल्लो समय एमालेप्रति आम रूपमा देखिएको असन्तुष्टि, एमालेभित्र पौडेल र महासचिव शङ्कर पोखरेल बिचको आन्तरिक सङ्घर्ष जस्ता विषयले पौडेललाई अप्ठ्यारो पार्न सक्ने अर्को विश्लेषण पनि गरिएको छ । यस्तै नेकपाबाट उम्मेदवार बनेका विश्वदीप पाण्डे नयाँ उम्मेदवारका रूपमा छन् । लामो समय बाबुराम भट्टराईसँग रहेका पाण्डे पुन तत्कालीन माओवादी केन्द्रमा प्रचण्डसँग फर्किएर अहिले रुपन्देही २को उम्मेदवार बनेका छन् । यँहा तुलनात्मक रुपमा नेकपाको जनाधार कम रहेको र एक्लै चुनावमा लडेका कारण उनले अन्य उम्मेदवारलाई कतिको चुनौती दिन सक्छन् त्यो हेर्न बाँकी नै छ ।
अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर पनि रुपन्देही २ कै मैदानमा छन् । आफैले निर्वाचनमा विजयी बन्न सक्ने गरी मत ल्याउन नसके पनि जनमुक्तिले अरूको गणित बिगार्न सक्ने गरी मत ल्याउन सक्ने विश्लेषण पनि राजनीतिका पण्डितहरूले गरेका छन् । मगरले अघिल्लो चुनावमा २२ हजार २७ मत ल्याएर तेस्रो स्थान ल्याएका थिए ।
त्यस्तै यस क्षेत्रमा चर्चित अभियन्ता डा. निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् । नेपाल जनसेवा पार्टीबाट सेतो र कालो रङको जुत्ता चुनाव चिन्ह लिएर भुसाल उम्मेदवार बनेका छन्।
अहिलेसम्मको चुनावी वातावरण हेर्दा यस क्षेत्रमा एमाले, काँग्रेस र रास्वपाबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । तिनै दलका उम्मेदवारको आ–आफ्नै राम्रो पक्ष रहेकाले कसले बाजी मार्छ भन्ने अवस्था रहेको देखिँदैन । समग्रमा यो चुनाव यस क्षेत्रमा विष्णु पौडेलले आफ्नो मत जोगाउने र काँग्रेस(रास्वपाले यस क्षेत्रमा आफ्नो झन्डा गाड्ने सङ्घर्ष हुने देखिएको छ ।