यूएई । नेप्लिज युथ ग्रुप अफ यूएईको प्रथम कार्यसमिति गठन तथा नयाँ वर्ष २०२६ को शुभकामना आदान–प्रदान कार्यक्रम मिति २०२६ जनवरी ११ गते भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री सन्देश सुवेदी ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो। नवगठित कार्यसमितिमा तारानाथ बराल संरक्षक,  सन्देश सुवेदी अध्यक्ष, सिर्जना पोख्रेल उपाध्यक्ष, अशोक खत्री महासचिव,  तुलसी रेग्मी सचिव,  सुबास जिसी कोषाध्यक्ष, राम प्रसाद भुसाल उपमहासचिव, सरु रेग्मी प्रवक्ता, कृष्ण न्यौपाने वरिष्ठ सल्लाहकार, चन्द्रा चापागाईं सदस्य तथा कमला पाण्डे सदस्य रहनुभएको छ।

आदरणीय तारानाथ बराल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामु भुसालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिबाट कार्यसमितिका पदाधिकारीहरूको औपचारिक घोषणा गर्दै दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष सिर्जना पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिबाट संस्थाको उद्देश्य, भूमिका र भावी योजनासम्बन्धी मार्गदर्शनात्मक मन्तव्य प्रस्तुत गरिएको थियो। त्यसैगरी सचिव तुलसी रेग्मीले संस्थाको विधान प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा हिन्दु जागरण शाखा यूएईका अध्यक्ष तथा महासचिव, साथै सितगङ्गा सम्पर्क समितिका अध्यक्ष र गौ संरक्षण यूएईका अध्यक्षले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कोषाध्यक्षबाट संस्थामा प्राप्त सहयोग तथा दानको आय–व्यय विवरण सार्वजनिक गरिएको थियो। अन्त्यमा अध्यक्ष सन्देश सुवेदीले समापन मन्तव्य राख्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभएको थियो।

यसै कार्यक्रममा सर्वसम्मत रूपमा केही महत्वपूर्ण निर्णयहरू पनि गरिएको छ। संस्थाको साधारण सदस्यता सबैका लागि खुला गर्ने र सदस्यता शुल्क ६० दिराम तोक्ने निर्णय गरिएको छ। साथै, संस्थाको हितमा आवश्यक प्रशासनिक तथा संगठनात्मक निर्णय लिन कार्यसमितिलाई पूर्ण अधिकार प्रदान गर्ने निर्णय भएको छ। वर्ष २०२६ भित्र युवामैत्री सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने योजना समेत स्वीकृत गरिएको छ।

कार्यक्रम शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ। कार्यक्रममा करिब ६० जना सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो भने १८ जना नयाँ साधारण सदस्य थप भएका छन्।