शिव डुम्रे
बुटवल, पुष ८ — अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८२ पुष ११, १२ र १३ गते सम्म विद्यालयहरू बन्द रहनेछन् । पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय द्वारा हस्ताक्षरित सूचनामार्फत उक्त निर्णयको जानकारी गराइएको हो। सूचनामा सबै विद्यालयहरूलाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ। उपमहानगरपालिकाले चिसोको समयमा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन अभिभावक र विद्यालय प्रशासनलाई आग्रहसमेत गरेको छ।