खबर संवाद
बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक लुम्बिनी पूजा सामग्री भण्डार बुटवलद्वारा सामूहिक शंख बजाउने प्रशिक्षण शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।
विश्व हिन्दु महासंघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थीहरूलाई विभाजन गरी शंख बजाउन अभ्यास गराएका थिए । कार्यक्रममा शंखको उत्पति, परिचय, शंखको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शंख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीजीले कार्यपत्र पेश गरेका थिए ।
प्राध्यापक डा। बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शंखको महिमा, स्थान र कथा प्रसंग भएको उल्लेख गरेका थिए । सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिए ।
घरघरमा शङ्ख भएर पनि बिहान साँझको नित्य पूजामा बज्न छोडेको शङ्ख बजाउने इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शङ्ख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शङ्ख बजाउन सिकाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी दिए ।


कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलो पटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्या उने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि पूजासामग्री भण्डारले विभिन्न प्रशिक्षण एवम् कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहने कार्यक्रमका संयोजक एवं अध्यक्ष सुन्दर भण्डारीले बताए ।
लुम्बिनी प्रदेश र नेपाल भारत सीमावर्ती क्षेत्रबाट समेत गरी २५० जनाको सहभागिता रहेको कार्यक्रममा महिला, युवा ,ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता ,ज्योतिष पण्डितआदिको उत्साहजनक उपस्थित थियो । आचार्य कमल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थीले जीवनमै पहिलो पटक यसरी विभिन्न कला स्वरसहित निःशुल्क शङ्ख बजाउन तालिम पाएकोमा अत्यन्त खुसी लागेको कुरा व्यक्त गरे ।