खबर संवाद
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन शुरु गरिएको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।
क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८ घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए ।
मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए ।
‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान क्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाढि बढेका हौं ।’