काठमाडौं । जेन जी आन्दोलनपछि दलहरूमा नेतृत्व बहिर्गमन र पुनर्गठनको बहस चलिरहँदा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ ।
काठमाडौंको प्रज्ञा भवनमा भोलिसम्म चल्ने बैठकमा विशेष महाधिवेशन मूल एजेन्डा रहेको छ । हालको केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी छ । आजको बैठकमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश हुनेछ । त्यस्तै आसन्न प्रतिनिधिसभाको चुनाव, पार्टी एकतालगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकको सुरूमा प्रचण्डले आफूलाई सधैँभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको प्रष्टीकरण दिएका छ्न् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने आफूले सार्वजनिक रूपमै बताइसकेको स्मरण गरे । लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि उनको भनाइ थियो ।