३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।
जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए । अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् । उनले भने, अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।’ प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।