काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा कार्तीक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारका लागि रास्वपाले ९ आकांक्षीबिच प्राइमरी इलेक्सन गराएको थियो ।
दुई महिना लामो आन्तरिक लोकतन्त्रको उन्नत अभ्यास प्रक्रिया ‘ प्राइमरी इलेक्सन’ गरेर रास्वपाले रुपन्देही निर्वाचनमा भाग लिने उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार रास्वपाले गरेको घोषणा अनुसार रुपन्देही ३ को उपनिर्वाचनका लागि न्यूरो सर्जन डा। लेखजंग थापा पार्टीको उम्मेदवार चयन भएका छन् ।
निर्वाचनको मुखैमा पैसा हुने र बलसालीलाई टिका लगाएर उम्मेदवार बनाउने परम्परागत राजनीतिक दलहरूको अभ्यासलाई चिरेर सक्षम, निष्कलङ्क, शिक्षित र जनताको जनभावनाअनुसारको उम्मेदवार छनोट गरेको रास्वपाले दाबी गरेको छ ।
आइतबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रममा सो पार्टीले उनलाई प्राइमरी इलेक्सनबाट रास्वपाको रुपन्देही ३ का लागि उम्मेदवार चुनिएको घोषणा गरेको हो । पार्टीले यसअघि बनाएको उम्मेदवार छनोट कार्यविधिका आधारमा उम्मेदवार चयन गरिएको रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याल ले बताए । उम्मेदवार छनौट विधि हालसम्मकै लोकतन्त्रको उन्नत, पारदर्शी र सक्षम विधि भएको अर्यालको भनाई छ ।

उम्मेदवार चयन भएका उनी रुपन्देही ३ को उपनिर्वाचनमा रास्वपाका आधिकारिक उम्मेदवार हुन् । उनी रुपन्देही कै स्थानीय समेत हुन् । साउन ७ गतेबाट सुरु भएको उम्मेदवार छनोट प्रक्रिया विभिन्न ८ चरणको प्रक्रिया पुरा गरेर १५ भदौमा टुङ्गिएको हो ।

को हुन उम्मेदवार डा. थापा

भैरहवाको सिद्धार्थ नगरपालिका ९ अञ्चलपुरमा जन्मिएका डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान् चिकित्सक हुन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा।थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
एक विद्वान चिकित्सकको छबि बनाएका डा।थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ ।
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा।थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने निश्चित छ ।
अन्तर्राष्ट्रिय जगत्को समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा।थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतना सम्बन्धी तालिम दिँदै आएका छन् ।