खबरसंंवाद
रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर १८ जना सम्पर्कविहीन भएका छन् । जसमध्ये ६ जना चिनिया नागरिक रहेका छ । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधन आवत जावत बन्द भएको प्रहरीको भनाइ छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका तीन प्रहरी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको हो । बाढीले ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।