खबर सम्बाद
राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीले नदी तथा खोलाहरूमा लगाएका ठेक्कामा ठेकदारले मापदण्ड विपरित जथाभावी उत्खनन तथा नदीजन्य पदार्थ चोरी निकासी गरेको भन्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
रास्वपाले केही दिन यता बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरूमा पर्ने तिनाउ दानव, चरङगेखोला, घोडाहा खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला लगायतका अधिकांश खोलाहरूमा अनियन्त्रित रुपमा, मापदण्ड विपरित अवैध दोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेको र मापदण्ड बमोजिम घाटगद्दी नगरि सिधै क्रसर उद्योगमा ढुवानी भइरहेको भन्दै जिल्ला सभापति बुद्दी शर्मा, सचिव बिष्णु पौडेल, क्षेत्र नम्बर ३ का सभापति मधु अर्याल, जिल्ला सदस्य मोहन जिसि लगायत जिल्लास्तरीय नेताहरुको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ , ‘स्थानीय तह लगायत सम्बन्धित पक्षको कहिन कहीं मिलेमतो र सेटिङ्गमा मापदण्ड विपरित राष्ट्रिय गौरवका आयोजनाको नाममा होस वा अन्य कुनै नाममा होस् खोला तथा नदीमा मापदण्ड मिचेर गरिने मनपरी उत्खननका कारण खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ । तसर्थ नियम विपरीत घाटगद्दी गर्ने, चोरी, निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन हामी जोडदार माग गर्दछौं ।’
जिल्ला सभापति बुद्दि प्रसाद शर्मा र सचिव बिष्णु प्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा सर्वसाधारणलाई सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध गराउन समेत माग गरिएको छ ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुगमन गरिरहेको र अझ प्रभावकारी बनाउने प्रतिक्रिया दिएका थिए ।
यस्तो छ ज्ञापनपत्र :
रूपन्देही जिल्लाका विभिन्न स्थानीय तहले आफ्नो पालिका भित्रका नदी तथा खोलाहरूमा लगाएका ठेक्कामा ठेकदारले मापदण्ड विपरित जथाभावी उत्खनन तथा नदीजन्य पदार्थ जस्तै ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी भएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीको तफर्बाट गम्भिर चासो र चिन्ता व्यक्त गर्दै, केही दिन यता बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरूमा पर्ने तिनाउ दानव, चरङगेखोला, घोडाहा खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला लगायतका अधिकांश खोलाहरूमा अनियन्त्रित रुपमा, मापदण्ड विपरित अवैध दोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेको र मापदण्ड बमोजिम घाटगद्दी नगरि सिधै क्रसर उद्योगमा ढुवानी भइरहेको कार्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
स्थानीय तह लगायत सम्बन्धित पक्षको कहिन कहीं मिलेमतो र सेटिङ्गमा मापदण्ड विपरित राष्ट्रिय गौरवका आयोजनाको नाममा होस वा अन्य कुनै नाममा होस् खोला तथा नदीमा मापदण्ड मिचेर गरिने मनपरी उत्खननका कारण खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ । तसर्थ नियम विपरीत घाटगद्दी गर्ने, चोरी, निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन हामी जोडदार माग गर्दछौं ।
प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरित प्रयोग गरिएका साधनहरू खोलाबाट तत्काल हटाउन र चोरी निकासी गर्नेलाई शक्त कारवाही गर्न हार्दिक अनुरोध गर्दछौँ । साथै नियमित अनुगमन गर्नका लागि स्वतन्त्र पत्रकार र विज्ञ समुहको अनुगमन संयन्त्र बनाउन पनि हामी अनुरोध गर्दछौं। हाम्रो अनुरोधलाई बेवास्ता गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार सम्बन्धित निकाय हुने समेत जानकारी गराउँदछौं ।
अन्तमा, जिल्ला भित्रको प्राकृतिक श्रोत साधनको उपभोग गर्न पाउने नागरिकको अधिकारलाई समेत मध्यनजर गरि सर्वसाधारणलाई सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध हुने व्यवस्था मिलाउन समेत हामी राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देही जिल्लाका तर्फबाट अनुरोध गर्दै यो ज्ञापन पत्र बुझाउदछौं ।