लुम्बिनी प्रादेशिक अस्पतालमा कांग्रेसलाई अरु कस्को भागमा पर्याे ?
खबर संवाद
लुम्बिनी प्रदेशमा रहेका १४ अस्पतालमा सत्तापक्षका एमाले र कांग्रेसले विकास समिति भागबण्डामा टुङ्याएका छन् । २ प्रादेशिक अस्पताल र अन्य जिल्ला अस्पतालहरुमा विकास समिति दुई दलले मात्रै बाडेपछि सत्तारुढ देखी विपक्षी दलहरुले यस्को विरोध गरेका छन् ।
लुम्बिनी प्रदेश मन्त्रीस्तरीय बैठकबाट भागबन्डाकै आधारमा १४ वटा अस्पताल विकास समिति अध्यक्ष नियुक्त गरिएकोमा सत्ता पक्षमै रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएका छन् । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार सरकारले अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिमा सत्ता पक्षका अन्य दलसँग छलफल नै नगरेको भन्दै विरोध जनाएका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्यजस्तो संवेदनशील ठाउँमा भागबन्डा गरिएकोमा आपत्र् िजनाए । उनले लुम्बिनी प्रदेश सभा बैठकमा आफूहरूले यसको विरोध गर्ने बताए ।
सत्तामा रहेका ठुला दल कांग्रेस–एमाले मिलेमा जे गरे पनि हुनेजस्तो गरी निर्णय भएको भन्दै उनले असन्तुष्टि जनाए । उनले अस्पतालजस्तो आमनागरिकको स्वास्थ्यसँग जोडिएको क्षेत्रमा अध्यक्ष नियुक्त गर्दा पारदर्शी ढङ्गले छलफल गरेर सम्बन्धित क्षेत्रको जानकारलाई नियुक्त गर्नुपर्नेमा भन्दै विरोध जनाएका हुन् । सत्ता पक्षकै अर्काे दल नागरिक उन्मुक्ति पार्टीका सचेतक नरमाया ढकालले आफ्नो पार्टीसँग सल्लाह नगरी कांग्रेस र एमालेले अस्पताल विकास समितिको अध्यक्ष नियुक्ति गरेको आरोप लगाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरीले पनि भागवण्डाविरुद्ध आवाज उठाउने बताए । बुधबार मन्त्रीस्तरीय निर्णयबाट १४ अस्पतालका विकास समिति अध्यक्ष नियुक्त गरिएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले विकास समितिका सदस्यहरू नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।
कहाँ कसलाई नियुक्ति ?
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसको सिफारिसमा महेन्द्र लामिछाने नियुक्त भएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेको सिफारिसमा अजयमान श्रेष्ठ नियुक्त भएका छन् । उनी यसअघि पनि विकास समितिको अध्यक्ष थिए ।

प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसका शेरबहादुर थापा, रामपुर अस्पताल पाल्पामा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा कांग्रेसका अजयमान कर्माचार्य विकास समिति अध्यक्ष नियुक्त भएका छन् ।
त्यस्तै भालुवाङ अस्पताल दाङमा एमालेका सूर्यप्रकाश शर्मा, रुकुम पूर्व अस्पतालमा कांग्रेसका लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेका जगदीश चौधरी, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा नियुक्त भएका छन् । भीम अस्पताल भैरहवामा कांग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्ष बनाइएका छन् ।
उनीहरूलाई आइतबारसम्ममा नियुक्तिपत्र दिने तयारी भइरहेको प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोत जनाएको छ । सकभर सदस्यहरूको नाम टुङ्ग्याएर सबैलाई एकै पटक नियुक्तिपत्र दिँदै शपथग्रहण गराउने योजना सरकारको रहेको पनि स्रोतले बतायो ।