नेपाली कांग्रेसले रवि लामिछाने सहकारी ठगीमा जोडिएको विषयमा संसदीय छानबिन समिति नबनीकन सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले सो घोषणा गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । यसअघि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताए ।
उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताए । उनले संसदमा सांसदहरूको प्रश्नको घाँटी बन्द गर्न खोजिएको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सदन चले नचलोस् सरकार चल्छ भनेको बताउँदै धेरै पटक प्रधानमन्त्री भएको पार्टीले त्यो कुरा बुझ्नुपर्ने बताए ।