शिव डुम्रे / बुटवल
बुधबार विहान १० बजे ईलाका प्रहरी कार्यालयसँगै रहेको बुटवलस्थित प्रदेश ट्राफिक कार्यालय अर्थात नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा पुग्दा कार्यालय परिसरमा झण्डै १ दर्जनभन्दा बढी मालबाहक ट्रिपरहरु रोकिराकेका थिए । प्रायःजसो धेरै टिप्परहरुमा चुनढुंगा थिए भने अन्य केहीमा कोईला लगायतका सामाग्रीहरु पनि थिए ।

केही दिन अगाडीमात्रै कार्यालय प्रमुख भएर आएका एसपी श्याम बहादुर खत्रीको ठाडो निर्देशनमा ट्रिपरमाथी कडाईपूर्वक चेकजाँच गर्ने भन्दै गत मंगलबार साझदेखी नै ट्राफिक प्रहरीले टिप्परहरु रोकेको थियो । प्रायःजसो ब्लुबुक र लाईसेन्स नबोकेको भन्दै टिप्परहरु रोक्ने र ट्राफिक कार्यालयमा जम्मा गर्ने क्रम बुधबार विहानसम्मै चलिरहेको थियो । बुटवल पाल्पाको सडकखण्डमा सबैभन्दा धेरै टिप्परहरु चल्छन्, अर्थात रुपन्देही र नवलपरासीमा रहेका सिमेन्ट फ्याक्ट्रिहरुको कच्चा पदार्थको रुपमा चुनढुंगा, पाल्पाबाट अत्याधिक मात्रामा आउने गर्दछन् ।

पाल्पाको दोभानदेखी बुटवलसम्म आएका टिप्परहरुले अत्याधिक ओभरलोड हुनेगरी सामान बोक्छन, सडकभरी जताजतै चुनढुंगा पोख्ने कारणले अत्याधिक दुर्घटना पनि हुने गरेको छ । मापदण्ड भन्छ, सवारीको कागजपत्र र चालकको लाईसेन्स अनिवार्य रुपमा सँगै बोक्नुपर्छ । आफ्नो क्षमताभन्दा अत्याधिक लोड बोक्न पाईदैन, लोड बोक्दा बाटोमा खसाल्न पाईदैन, त्रिपालले अनिवार्य छोप्नुपर्छ, टिप्परको ढालाभन्दा माथी चुनढुंगा बोकमा ट्राफिक प्रहरीले ओभरलोड को कारबाही गर्नुपर्छ । यि मापदण्डहरु बनाएपनि कुनै पनि टिप्परहरुले यो लागू गर्दैनन् । तर बर्षाैदेखी मापदण्ड पुरा नगरेका यि टिप्परहरु खुलेआम पाल्पा–बुटवल गरिरहेका छन्, यसको पछाडी कस्को हात छ ? के यि टिप्परहरुलाई कुनै पनि ट्राफिक नियम लागू हुदैन ? हुन्छ भने किन यसरी मापदण्ड नपु¥याई हिनेका टिप्परहरु कारबाही भएको सुन्न पाईदैन । यिनै टिप्परहरुलाई कारबाही गर्ने भन्दै भर्खर एसपी बनेर प्रदेश हेर्ने गरी राजमार्ग व्यवस्थापन कार्यालयमा आएका एसपी श्यामबहादुर खत्रीको निर्देशनमा १९ वटा टिप्परहरु समातिए ।
यि हुन समातिएका टिप्परहरु यो हेर्नुस ः

समातिएका धेरैजसो टिप्परहरुको विलबुक नविकरण थिएन, चालकहरुको लाईसेन्स पनि थिएन भने सबै टिप्परले ओभरलोड बोकिरहेका थिए । टिप्पर समातिएको केही समयमै टिप्पर साहूहरु एसपी खत्रीलाई भेट्न आए, उनीहरुसँग झण्डै २ घण्टा गोप्य मिटिङ गरेपछि ति सबै टिप्परहरुलाई रु १,०००÷– मात्रै ओभरलोडको कारबाही गरेपछि छोडियो । त्यसमध्ये ३ वटा टिप्परहरुको ५ बर्षभन्दा माथि नविकरण नगरिएको भन्दै रोकिएको थियो भने बाकी १६ वटा टिप्परहरुबाट एक हजारको दरले कारबाही गर्दै छोडिएको थियो । तर ति धेरैजसो टिप्परहरुका विलबुक फेल नभएको र लामो समयदेखी नविकरण नगरेको तथ्यलाई वेवास्ता गर्दै ट्राफिक प्रहरीले छोडिदिएको छ ।

समातिएका टिप्परहरुमध्ये लु १ क ४१२० नम्बरको टिप्परले २०७९ फागुन ११ गते मात्रै नविकरण गरेको छ, त्यस्तै लु २ ख ३६१६ नम्बरको गाडीले आ.व. ०७७/०७८ को मात्रै राजस्व तिरेको छ भने ३ बर्षको नविकरण शुल्क तिरेको छैन । लु २ ख १८५१ को ३ बर्ष, लु २ ख १८८५ को ३ बर्ष, लु २ ख २३४९ को २ बर्ष नविकरण नगरि विलबुक फेल भएको रेकर्ड यातायात व्यवस्था कार्यालयमा देखिन्छ ।
त्यस्तै लु २ ख ६१०५ को १ बर्ष, लु २ क २५१९ ले ०७४/०७५ सम्मको मात्रै नविकरण गरेको देखिन्छ भने नविकरण नगरेको म्याद नै ५ बर्ष कटेको छ, त्यस्तै लु २ ख १९५८ नम्बरको गाडीले २०७५ चैत १४ गते मात्रै ५२,३०० तिरेर नविकरण गराएपछि बाकी ४ बर्षको नविकरण गराएको छैन, त्यस्तै ना ८ ख ६३०९, ना ९ ख ७९५६ र प्र ०२–०३–००१ ख ५७४५ को भने प्रदेश बाहिर भएकोले रेकर्ड लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालयसँग नरहेको जानकारी यातायात व्यवस्था कायालर्य सवारीका प्रमुख लक्ष्मण लम्साले दिए । 
लामो समय नविकरण नगरेका, जाँचपाँस र रुट प्रमिट समेत नलिएका टिप्परहरुलाई रु १,०००/– मात्रै जरिबाना गरेर छोड्ने कि नविकरणको लागी यातायात व्यवस्था कार्यालय पठाउने भन्ने प्रश्नमा एसपी खत्री भन्छन्,
‘ट्राफिकको काम कागजपत्र चेकजाँच गर्ने हो, तर नविकरण भए वा नभएकोले कुनै अर्थ राख्दैन, म बुटवलमा हुँदासम्म, नविकरण नभएको भनेर कुनै पनि गाडीलाई कारबाही हुँदैन किनकी प्रहरीको जिम्मा नविकरण भए नभएको होईन, हामी तेस्तो हेर्दैनौं ।’
एउटा सामान्य बाईक समातिदाँ पनि नविकरण नगरेको भए नविकरण गर्न पठाउँने नियामक निकाय हो, ट्राफिक कार्यालय तर बर्षाैदेखी लाखौं राजस्व नतिरेर विलबुक विना र नविकरण नै नगरी टिप्परहरु कसरी चलेका छन ? 
‘टिप्पर त्यस्तो माध्यम हो, जस्ले सहजै ढंगले ट्राफिक प्रहरीहरुलाई मासिक पैसा बुझाउँछ, मासिक रु १,००० देखी ३,००० सम्म नियमित पैसा ट्राफिक प्रहरीलाई विभिन्न माध्यमबाट बुझाउँनुपर्छ ।’ लामो समयदेखी टिप्पर व्यवसाय गर्दै आएका पाल्पाका एक व्यवसायीले नाम नखोल्ने सर्तमा यो तथ्य बताए, उनले थपे, ‘जुन दिन प्रहरीकोमा पैसा पुग्न रोकिन्छ, त्यही दिनदेखी टिप्पर रोकिन सुरु हुन्छ, अनी फेरी नियमित बुझाउने सर्तमा छोडिन्छ ।’ यो प्रमाण नभेटिने तर सत्य तथ्य हो, किनकी तथ्य भन्छ नियमित रुपमा पाल्पाको दोभानदेखी बुटवलको ट्राफिक कार्यालयलाई पैसा बुझाउने थुप्रै टिप्पर व्यवसायीहरु छन् । 
टिप्पर ट्राफिक प्रहरीको नियमित आम्दानीको स्रोत बनेकै कारण समातिएका टिप्परहरुका १ घण्टा नवित्दै छुटेका त हैनन् ? शंकाको सुई ट्राफिक प्रहरीतिर सोझिन्छ । टिप्पर व्यवसायीले पनि नविकरण गर्दा लाखौं जरिवाना तिर्नुको साटो मासिक १०००÷२००० पैसा ट्राफिकलाई बुझाएपछि कुरा मिल्ने भएपछि कस्ले लाखौं राजस्व तिर्न लाईन लागोस् । 
कुरा प्रष्ट छ, भर्खरै मात्रै एसपी भएर लुम्बिनी प्रदेश आएका खत्रीले स्पष्टसँग भनेका छन्, म छँदासम्म नविकरण नभएको कुनै पनि सवारीलाई कारबाही हुँदैन, , अर्थात नविकरण नगरेपनि ट्राफिकले रोक्दैन, यदि यसो हो भने बाटोमा अरु कुनै पनि साधन किन रोक्नु ? अर्काे कुरा नविकरण जाँच नगर्नेले जाँचपास, रुट प्रमिट पनि चेक नगर्ने कुरा स्पष्ट छ । उनी आउँनभन्दा अगाडीसम्म त्यही लोड बोकेर, त्यसरी नै हिन्दा एकदिन नरोकिएका र कारबाही नभएका टिप्परहरुलाई उनी आएको तेस्रो दिन किन भकाभक ओभरलोड भन्दै रोकियो । कारण त्यत्ति होला त ? हरेकदिन यसैगरी अनियमित रुपमा ओभरलोड बोकेर हिड्ने टिप्परलाई दैनिक कारबाही किन हुँदैन ? 
नयाँ जोगिले धेरै खरानी खस्छ भन्ने नेपाली उक्तिलाई चरित्रार्थ गर्दै एकै दिन टिप्परको एक्सनमा उत्रिएका नयाँ एसपीको टिप्पर मोह किन देखियो ? यो आगामि दिनमा देखिदै जाला, अहिलेलाई यति भन्न सकिन्छ कि यो घटनाले टिप्पर व्यवसायीहरुले गर्ने गरेको गुनासो बमोजिम मासिक पैसा बुझाउने, ट्राफिक प्रहरीले मालबाहक ट्रक, जीप, भेन सवारी बोक्ने (कालो प्लेट) बस र अझ धेरै भारतीय नम्बरका गाडीहरुमा समेत रु ५० देखी १००० सम्म अबैध रुपमा पैसा उठाउने गरेको गुनासो थप स्पष्ट हुन्छ ।

हरेकपल्ट नयाँ आउने ट्राफिक प्रमुखले ट्राफिक व्यवस्थापन र समस्याहरुलाई समाधान गर्न नयाँ निति लिएर आउँछन्, सुरुसुरुमा निकै तदारुकता देखाएपनि विस्तारै फेरी अवस्था उस्तै हुन्छ । भर्खरै एसपी बनेका ट्राफिक प्रमुखको आगामी योजना प्रयोग भएपछि देख्न पाईएला, तर नविकरण नभएका गाडीहरुलाई चेक नै नगर्ने उद्दघोषले सकडमा अराजकता नमच्चिओस् ।